२६ जेठ २०८३, मंगलबार
धरहराको शिलालेख गायब

कसले निकाल्यो ओलीको नाम उल्लिखित धरहराको शिलालेख ? [भिडियो स्टोरी]

जेठ २८, २०८०
काठमाडौं
कसले निकाल्यो ओलीको नाम उल्लिखित धरहराको शिलालेख ? [भिडियो स्टोरी]

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा धरहरा उद्घाटन गरेको दुईवर्ष भयो । २०७८ वैशाख ११ गते ओलीले धरहरा उद्घाटन गरेका थिए । आफ्नै पार्टीभित्रको तीव्र असन्तुष्टिका कारण सत्ताविमुख हुने बेला ओलीले हतारहतार धरहरा उद्घाटन गरेका थिए । 

त्यसरी हतारमा धरहरा उद्घाटन गर्नुको कारण उनैलाई थाहा होला । तर, काम देखाउने र धरहराको शिलालेखमा दीर्घकालसम्म आफ्नो नाम रहने लालसाले पनि काम गरेको हुनसक्छ किनकि भौतिक संरचनाको ३० प्रतिशत काम नसकिँदै उद्घाटन गर्ने उनको हतारोले यस्तै संकेत गर्छ ।

दीर्घकालसम्म शिलालेखमा नाम राख्ने उनको लालसामा निर्माण कम्पनी बाधक बनेको छ । अहिले शिलालेख गायब छ । बढो तामझामका साथ उद्घाटित शिलालेख निर्माण कम्पनीले नै उखेलिदिएको हो । 

शिलालेख निकालिएको स्थान

निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीले काम गर्न कठिनाइ भएको भन्दै शिलालेख हटाएको हो । ‘काम गर्न अप्ठ्यारो भएपछि शिलालेख हटाइएको हो,’ निर्माण कम्पनीका एक अधिकारीले भने ।

यता आयोजनाको समन्वय गरिरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भने शिलालेख हटाएकोबारे अनभिज्ञता प्रकट गरेको छ । इकाइका आयोजना निर्देशक कोषनाथ आधिकारीले निर्माण कम्पनीसँग यसबारे बुझिरहेको बताए । 

‘शिलालेख किन हटाएको हो भन्नेबारे निर्माण कम्पनीसँग बुझिरहेको छु’ निर्देशक अधिकारीले भने, ‘शिलालेख हटाउनुपर्ने कारण मैले देखेको छैन ।’ 

शिलालेख अनावरण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली | तस्वीर : पुनर्निर्माण प्राधिकरण

हुन् त काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह हाल निर्माण भएको संरचनालाई धरहरा भन्न तयार छैनन् । उनले त्यसलाई ‘सेतो टावर’को संज्ञा दिने गरेका छन् । भूकम्पले भत्काएको भीमसेन स्तम्भलाई उनले धरहरा मान्दै आएका छन् । 

बालेनले नै शिलालेख हटाएको हुन सक्ने कतिपयले आशंका गर्छन् । तर, निर्देशक अधिकारीले भने ‘बालेनलाई शिलालेख हटाउने अधिकार नभएको’ बताए । ‘यो निर्माण कम्पनीसँगै सम्बन्धित विषय हो,’ लोकान्तरसँग उनले भने । 

पुनर्निर्माण प्राधिकरण विघटन भएपछि अहिले भूकम्पबाट क्षति पुगेका संरचना निर्माणको काम शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको यही इकाइले सम्हालेको छ । 

इकाइका अनुसार धरहराको बाँकी काम मंसिरसम्म सम्पन्न गर्ने तयारी छ ।  

‘धरहराको जमिनमुनि काम भइरहेको छ,’ निर्देशक अधिकारीले भने, ‘मंसिरसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।’ धरहराको भित्री संरचनाको काम सकिएको छैन, तीनतले भूमिगत पार्किङ निर्माणको काम अघि बढेको छैन, टक्सारसम्बन्धी संग्रहालय, युटिलिटी ब्लक, विश्रामस्थल लगायतको संरचना निर्माणको कामले तीब्रता नपाउँदा मंसिरसम्म आयोजना निर्माण हुनेमा आशंका छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्