२९ जेठ २०८३, शुक्रबार
सेलेब्रिटीको दशैं

दीपाश्रीलाई विराटनगर नपुगी आउँदैन दशैं !

कात्तिक ६, २०८०
काठमाडौं
दीपाश्रीलाई विराटनगर नपुगी आउँदैन दशैं !

‘मलाई विराटनगर पुगेपछि मात्रै दशैं आएको फील हुन्छ,’ दशैंका विषयमा कुरा गर्न बस्दै गर्दा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले भनिन् ।

विराटनगर उनी जन्मिएको ठाउँ । हुर्किएको ठाउँ । साथीसंगीसँग हाँसखेल गर्दै रमाएको ठाउँ । परिवार, आफन्तसँग जमघट हुने ठाउँ । अनि त्यही जमघटको माहोल मिलाउने दशैं आउँदा दीपाश्रीको मन उमंगले भरिएको छ । 

यद्यपि, उनी विराटनगर नपुग्दासम्म दशैं आएको खास महसुस गर्न नसक्ने बताउँछिन् ।

यस वर्ष उनको दशैं विराटनगरमै बित्दैछ । विराटनगरमै पुगेर दशैंका लागि घरमा चाहिने सामान किन्ने र परिवार, आफन्त, साथीसंगीसँग भेटघाट गर्नेछिन् । बाहिरी कामहरू नसोचेर रमाइलो गरी दशैं मनाउने उनले बताइन् ।

‘बुवाको हातको टीका लगाउँछु । आफन्त–मामाघरलगायत सबै ठाउँमा जान्छु,’ उनले भनिन् ‘टीका लगाएपछि ऊर्जा लिएर काठमाडौं आएर फेरि कर्म गर्नतर्फ लाग्छु ।’ 

null

बाल्यकालमा दशैं मनाउँदा र अहिले...

दीपाश्रीलाई लाग्छ, दशैैंको महत्त्व उमेरअनुसार फरक–फरक हुँदोरहेछ । बच्चाबेलामा पैसा ठूलो कुरा हुन्थ्यो । लुगा ठूलो कुरा हुन्थ्यो । त्यसबेला साथीसंगीसँग विराटनगरको गुदुरी बजारमा शपिङ गरेको अझै याद आउने गरेको दीपाश्री सुनाउँछिन् ।

‘त्यतिबेला हामीलाई आशीर्वादको मतलब थिएन, खाली पैसा झर्नुपर्‍यो । कसको पैसा कति हुन्छ ? कसले कस्तो लुगा किन्या छ ? कसको जुत्ता कस्तो छ ? त्यसमै ध्यान जान्थ्यो । त्यो बेलाको मज्जा अर्कै थियो,’ उनले भनिन् । अहिले दशैं आउँदा जिम्मेवारी महसुस हुने दीपाश्री बताउँछिन् । ‘यो परिवारसँग भेट हुने, आफन्तहरू आउनुहुन्छ भनेर खुशी हुने चाड हो । आशीर्वादको चाड हो ।’ 

त्यो बेलाको मज्जा अब कहाँ हुनु !

दशैंको सम्झना गर्दा दीपाश्रीको स्मृतिमा बाल्यकाल झल्झली आउँछ । त्यतिबेला अहिलेजस्तो गाडीको सुविधा थिएन । गाडीमा कोचाकोच भएर असिनपसिन हुँदै मामाघर पुग्थिन् । मामाघर पुगेपछि बुवाआमाबाट टीका लगाउन शुरू हुन्थ्यो ।

‘हामी फुच्चा–फुच्चीको पालो अलि पछि आउँथ्यो । त्यो बेला हाम्रो ध्यान अक्षता, जमरामा नभएर पैसामै हुन्थ्यो । मामाले कति पैसा दिने हुन् ? भन्ने खुलदुली हुन्थ्यो,’ उनले बाल्यकालको दशैं सम्झिइन् । उनलाई अहिले पनि याद छ, एकपटक मामाले टीका लगाएर ५ रुपैयाँ दक्षिणा दिएका थिए । त्यसबेला निधारको टीका पुछेर मामालाई नै त्यो दक्षिणा फालिदिइन् ।

उनले भनिन्, ‘त्यो बालापनको दशैं अहिले सम्झँदा त्यसो गर्न हुँदैनथ्यो भन्ने लाग्छ ।’ 

अहिले पनि मामाले बाल्यकालको त्यही क्षणलाई लिएर भाञ्जी (दीपाश्री)लाई जिस्क्याउने गरेका रहेछन् ।

‘भाञ्जी पहिलेझैँ अक्षता फाल्ने त हैन नि भनेर जिस्काउनुहुन्छ,’ दीपाश्रीले भनिन्, ‘मामा त्यसबेला त बच्चा थिएँ नि भन्छु । तर, मेरो भाञ्जीको त्यही बच्चापन मलाई मनपर्छ भन्नुहुन्छ ।’ 

nullजे होस्, बच्चा बेलामा पिङ खेलेको, गाडीमा खचाखच भएर मामाघर गएको सम्झँदा अहिले पनि दीपाश्रीलाई छुट्टै रमाइलो फील हुँदो रहेछ ।

विराटनगरलाई एकदमै मिस गरेको एउटा दशैं

दशैं यसै पनि रमाइलो चाड हो । अधिकांशलाई आफू जन्मेको, हुर्किएको ठाउँकै दशैं प्यारो लाग्छ । सोहीकारण दीपाश्रीले हरेक दशैं विराटनगरमै पुगेर मनाउने गरेकी छिन् ।

यद्यपि, करिअरमा संघर्ष गर्दैगर्दा उनी एउटा साल विराटनगर गएकी थिइनन् । दशैंमा घर नगएर काठमाडौंमै बसेकी थिइन् ।

‘त्यो धेरै वर्ष पहिलेको कुरा हो । त्यो साल सम्झँदा मलाई जहिले पनि पछुतो हुन्छ’ उनले भनिन्, ‘त्यतिखेर विराटनगरलाई एकदमै मिस गरेकी थिएँ । अब, मिस गर्न चाहन्नँ ।’ 

null

‘यस वर्ष हाम्रो चलचित्र नआए पनि चलचित्र हल सञ्चालनमा आयो’

दीपाश्रीका यस अगाडिका चलचित्रहरू दशैंको माहोलमा प्रदर्शनमा आउँथे । चलचित्र प्रदर्शन भइरहेको माहोलमा पनि दीपाश्री दशैं मनाउन भने विराटनगर नै पुगेकी हुन्थिन् । 

घरमा टीका लगाएर आसपासका हलमा पुगेर दर्शकसँग खुसी साट्थिन् ।

यस वर्ष दशैंमा दीपाश्रीको टीमले बनाएको चलचित्र प्रदर्शनमा आएन । यद्यपि, दीपाश्रीको टीमले दशैंको छेको पारेर बानेश्वरमा चलचित्र हल सञ्चालनमा ल्यायो । ‘यसपालि आफ्नो चलचित्र छैन, तर चलचित्र हल छ । यद्यपि, सबैको चलचित्र आफ्नै चलचित्र त हो ।’ 

‘सामान्य खर्चमै दशैं मनाउन सक्छु’

दीपाश्री दशैंका लागि भनेर धेरै बजेट छुट्याउँदिनन् । उनी कति शपिङ गर्ने भन्ने आफ्नो हातको कुरा रहेको बताउँछिन् ।

‘म धेरै हाइफाइ तरिकाले खर्च गर्दिनँ । सामान्य खर्चमा पनि दशैं सकाउन सक्छु,’ उनले भनिन् ‘अरूलाई पनि गच्छेअनुसार खर्च गर्न आग्रह गर्छु ।’ 

दशैं मनाएर पूर्णिमापछि मात्रै काठमाडौं फर्किने उनले बताइन् ।


 

salt training

कमेन्ट गर्नुहोस्