नेपाललाई अढाई करोड डोज कोरोनाविरुद्धको खोप दिने रुसको तयारी, स्वास्थ्य मन्त्रालय भन्छ – थाहा छैन !

नेपाललाई २ करोड ५० लाख कोरोनाविरुद्ध खोप (स्पुत्निक भी)को डोज दिन रुसको स्वतन्त्र सम्पत्ति कोषल तयार भएको छ । ट्रिनिटी फर्मास्युटिकल्समार्फत नेपाललाई सो संख्यामा कोरोनाविरुद्ध खोपको डोज दिने रुसी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

ट्रिनिटी फर्मास्युटिकल्स निजी स्वास्थ्य सेवा फर्म र रुसको औषधिको महत्त्वपूर्ण वितरक हो ।


Advertisement

रुसको प्रत्यक्ष लगानी कोषले विश्वभर कोरोनाविरुद्धको खोप वितरण गर्ने जिम्मा पाएको छ । नेपाललाई मात्र होइन भारतलाई पनि १० करोड डोज दिने रुसको तयारी छ ।

संसारभर कोरोनाविरुद्धको खोप आउने चर्चा भइरहेका बेला गत ११ अगस्तमा रुसमा स्पुत्निक भी नामको खोप दर्ता गरिएको थियो । उक्त खोप राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलेसमेत लगाएकी थिइन् ।


Advertisement

स्पुत्निक भीको तेस्रो चरणको क्लिनिकल ट्रायल भने रुसमा चलिरहेको छ । यद्यपि रुसले अन्य देशका नागरिकहरूलाई पनि आफ्नो खोपको ट्रायलमा सहभागी गराउन चाहेको छ ।

नेपाललाई उपलब्ध गराउने भनिएको २ करोड ५० लाख डोज नेपालमा कहिले आउँछ भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।

'रुसको खोप आउनेबारे हामीलाई अहिलेसम्म केही जानकारी छैन,' ‘स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरलाई भने, 'उच्च तहमा केही सम्झौता भएको भए त्यो हामीसम्म आइपुगेको छैन ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्