कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
३ हप्ता लामो आईसीयू बसाइपछि ह्विलचेयरमा राखेर, नाकमा अक्सिजन क्यानुला तथा हातमा क्यानुलासहित स्लाइनको बोतल झुण्ड्याएर उसलाई पोस्ट अपरेटिभ वार्डमा पुर्याइयो । उनी कालोचिया, सुप तथा जुस खान सक्ने अवस्थामा पुगेका थिए ।
उसले बेडबाट बिस्तारै उठेर ऐना हेर्यो । हड्डीमा छाला टाँसिएको अनुहार, फुस्रा र कलेटी परेका ओंठ, हड्डीभित्र पसेका साना एनेमिक आँखा तथा जिरिङ्ग परेको कपाल देखेर उसलाई बैराग्य लाग्यो । पीसीआर टेस्ट नेगेटिभ आएको खबरले उसको खडेरी परेको मनमा एक झरी वर्षात भयो ।
पोस्ट अपरेटिभ वार्डमा पनि उसका फेलर भएका भाइटल अंगलाई क्रियाशील बनाउने उपचार जारी रह्यो । उसले सोच्यो – जीवन भन्ने के नै रहेछ र ? एउटा भुसुने भाइरसले मान्छेका अहम् महत्त्वाकांक्षा, प्राप्ति, मोह तथा शक्तिलाई तासको महल जस्तै गर्ल्याम्म ढाल्दोरहेछ ।
डाक्टर तथा नर्सको अथक प्रयासको कारण उसलाई थप आराम अनुभव भयो । त्यसपछि उसलाई क्याबिनमा सारियो । क्याबिनको झ्यालबाट उसले आँखा बाहिर निकाल्यो । आहा ! हरिया डाँडा, निलो आकाश, सिर्सिरे बतास, चुमिलो घाम, हरिया रुख अनि अनारदानाजस्ता टुपुक्क बसेका बस्ती । उसको उदासी मनमा छर्लङ्ग घाम लाग्यो । धेरैदिनपछि उनी मुस्कुराए । सोचे – पुनर्जन्म भनेको यही रहेछ ।
उनकी पत्नी तथा छोराछोरी क्याबिनभित्र प्रवेश गरे । बाबा ! भन्दै केटाकेटी अँगालो हाल्न आए । उनकी पत्नीको आँखामा बाँधेको अश्रु तलाउ स्थिर थियो । उनका आँखा पनि डिबिल–डिबिल भए । ओठ थरथर काम्यो । तर बोल्न सकेन । उनीहरूभन्दा पहिले फूलको बुकी बोकेर म उनलाई भेट्न क्याबिनमा पुगेको थिएँ । हामी सबैले एकअर्कालाई हेर्यौं तर बोल्न सकेनौं ।
साथीको त्यो हालत देखेर मैले आफूलाई सम्हाल्न सकिनँ । डाँको छोडेर रोएँ । म रोएपछि सबैको बाँध भत्कियो । केही मिनेट क्याबिनमा रोदन मन्त्र गुन्जिरह्यो । आफूलाई सम्हालेर मैले उनीहरूलाई पनि सम्हाल्ने कोसिस गरें ।
त्यो रात म कुरुवा बस्ने निर्णय गरें । कृष्णलाई आशाको उज्यालो घाम देखाउनु थियो, सुन्दर भविष्यको क्षितिज देखाउनु थियो तथा उनको मन पढेर सहयोगका इँटा थप्नु थियो । मेरो जीवनमा उनले अतुलनीय गुन लगाएका थिए, जसको कारण म यो धर्तीमा रहेको तथ्य स्मरण गराउनु थियो ।
उनले आँखाबाट आँसु झार्दै मोबाइल फोनमा आएका म्यासेज मलाई पढ्न दिए । म्यासेज पढेपछि म अवाक भएँ । उनका आफन्त तथा साथीहरूले उनलाई कोरोना भएको थाहा पाएपछि सापटी लिएको पैसा तुरुन्त तिर्नु भनेर ताकेता गरेका रहेछन् । एक जना आफन्तले मानवीयता बिर्सेर लेखेको रहेछ – तिमी मर्यौ भने मेरो पैसा कसले तिर्छ ?
अर्को म्यासेज छिमेकीको रहेछ । छिमेकीले लेखेका थिए – तिमी पूरा निको नभइकन घरमा नआउनु । वडा सदस्यले तिम्रो घरमा ‘यो कोरोनाको घर हो, सावधान !’ भनेर पोस्टर टाँसेका छन् ।
मेरो मनमा आगोको राँको बल्यो । उनलाई भनें – गाह्रो नमान कृष्ण ! यी सबै सुखका ग्राहक हुन् । हाम्रो चेतना परपीडक नभएको भए समयको दौडमा हामी कुवाभित्र रहने थिएनौं । म भोलि बिहान गएर उनीहरूको सापटी ब्याजसहित तिरिदिनेछु ।
*****
कस्तो छ तपाईंलाई ? डा. शर्माको टोली राउन्डमा आयो । उनले एकै सासमा भने – अक्सिजन विना सास फेर्न सकेको छैन, शरीर कोदो ठटाए जस्तो गरी दुःखेको छ, एकदम थकाइ लागेको छ, जोर्नी दुःखेका छन्, खोकी लागेको छ, टाउको दुःखेको छ, मुटुको धड्कन तेज छ, रातभर परेला जोड्न सकिनँ ... !
डा. शर्माले आफ्नो टीमसँग सिटी स्क्यान, एक्सरे तथा रगतको रिपोर्ट देखाउँदै अंग्रेजीमा व्याख्या गरे – कोभिडले मुटुको मांशपेशीमा असर गरेको हुन्छ, जसले हर्ट फेलर वा मुटुसम्बन्धी अन्य समस्या देखिन सक्छ । त्यस्तै कोरोनाले फोक्सोका ससाना सास थैली नष्ट गरेको हुन्छ, जसको कारण फोक्सोमा रहेका दाग वा कडापनले लामो समयसम्म श्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न हुन्छ । कतिपय जवान व्यक्तिमा समेत पक्षघात, बेहोस हुने, पार्किन्सन तथा विस्मृति गराउन पनि सक्छ ।’
अरुले मुण्टो हल्लाएर बुझेझैं गरे । डा. शर्माले फेरि उनीहरूलाई अंग्रेजीमै भने – कोभिड–१९ को कारण रगत बाक्लो हुने तथा रगतका ढिका जम्ने हुन्छ । ठूला क्लट अर्थात् ढिका जमेको अवस्थामा हार्ट एट्याक, पक्षघात तथा ससाना रक्तनली बन्द हुने आदि हुन्छ । त्यस्तै फोक्सो, खुट्टा, कलेजो र मिर्गाैलामा रगतको ढिका रहेमा दीर्घकालीन असर हुनसक्छ । पोस्ट कोभिड लक्षण केही महिनासम्म रहन सक्छ । भाइरसले फोक्सो, मुटु तथा मस्तिष्कमा असर गरेको हुन्छ, जसको कारण लामो समय स्वास्थ्य समस्या हुनसक्छ ।
त्यसपछि डा. शर्माले उनीतिर फर्केर नेपालीमा भने – बधाई छ कृष्णजी ! तपाईंलाई एकदम राम्रो सुधार भएको छ । हामीले ५ दिन यहाँ राखेर डिस्चार्ज गर्छौं, चिन्ता नलिनुहोला । केही परे हामी छौं । यी औषधि नियमित रूपमा खानुहोला ।
‘डा. शर्माले आफ्ना अनुजलाई गरेको व्याख्या मैले लगभग सबै बुझें । मलाई एकरति पनि चिन्ता लागेन । खहरे खोलो तरेपछि ससाना खोला त कुलाजस्ता लाग्दा रहेछन् ।’ कृष्णको पहाडिलो आत्मबल देखेर म हर्षविभोर भएँ । उसलाई चिन्ता नलागे पनि मलाई भने उनको चिन्ता लागिरह्यो । मनले नमानेको हुँदा म डा. शर्मालाई छुट्टै भेट्न गएँ । डा. शर्माले बताए – लामो समय आईसीयू वा भेन्टिलेटरमा बिताएका बिरामीलाई चिन्ता, डिप्रेसन, पोस्ट ट्रउमाटिक स्ट्रेस सिन्ड्रोम देखा पर्न सक्छ ।
सन् २००२ मा चीनमा फैलिएको सार्सबाट निको भएका व्यक्तिमा पनि शारीरिक तथा मानसिक रूपमा अत्यधिक थकाइ लाग्ने समस्या देखिएको थियो । मुटु, फोक्सो, कलेजो, किड्नी, मस्तिष्क र स्नायुमा लामो समय असर देखिएको थियो । सार्स रोग लागेका मध्ये २०% को फोक्सो ड्यामेज भएको थियो । तर कोभिड सार्सभन्दा धेरै कमजोर हुन्छ, चिन्ता नगर्नुहोला । उहाँलाई छिट्टै ठीक हुन्छ । हामीले उहाँलाई स्टेरोइड, रगत पातलो हुने औषधिलगायत चलाएका छौं ।
मैले डा. शर्माको अनुहार पढें – चिन्ता मेरो मुहारमा भन्दा उनको मुहारमा गाढा देखिन्थ्यो ।
कृष्णले अस्पतालको बसाइ दिक्क मानिरहेको थियो । हामीले डा. शर्मासँग डिस्चार्ज माग्यौं । अर्को दिन डा. शर्माको टीम क्याबिनमा आयो । उनको परिवारको तर्फबाट मैले नै सहीछाप लगाएँ । डा. शर्माले भने – अस्पतालमा केही असुविधा भएको भए क्षमाप्रार्थी छौं । हामीले सक्दो राम्रो गर्ने प्रयास गर्यौं । हामीले दिन मिल्ने डिस्काउन्टको लागि लेखेर पठाएका छौं । केही गाह्रो भयो भने फोन गर्नुहोला, अप्ठ्यारो नमान्नुहोला ।
डा. शर्माको कुरा सुनेर कृष्ण भावविभोर भयो । उनले यसरी कृतज्ञता जाहेर गरे – डा. साहेब, तपाईंहरू मनोबल सम्पन्न, उत्तम कोटिका, स्मृतिशक्ति सम्पन्न, उत्साही, पराक्रमी, दक्षताका साथ काम सम्पन्न गर्ने क्षमता भएका, कल्याणकारी, पवित्र मन भएका, दयालु तथा सुखदुखमा संयमित हुनुहुन्छ । यी गुणको सूर्यले गर्दा तपाईंहरूले मलाई दोस्रो जन्म दिनुभयो । तपाईंहरू मेरा मातापिता तुल्य हुनुहुन्छ ।
उनले भने – मलाई जीवन दिने देवीदेवताको अनुहारसम्म देख्न पाएको छैन । पीपीईमा सबै उस्तै देखिने । कृपया एकपटक अनुहार खोलेर एउटा फोटो खिच्ने मौका दिनुहोस् । मैले पूजाकोठामा तपाईंहरूको फोटो राखेर पूजा गर्नेछु ।
उनको उपचारमा संलग्न सबै चिकित्सक तथा नर्सले उनीसँग फोटो खिचाए, अँगालो हाले, आँसुको साटासाट भयो, खुशीको साटासाट भयो । मैले उनको उपचारमा खटिएका डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई सम्मानस्वरूप भक्तपुरको आँखीझ्याल उपहार ल्याएको थिएँ । कृष्णले माला र आँखीझ्यालले उनीहरूलाई सम्मान गर्यो र हामी बिदाइ हुनुपरेकोमा दुःख मान्दै घर फर्कियौं ।
*****
घर पुगेपछि कृष्णले गेटमा टाँसेको पोस्टर देखे – यो कोरोनाको घर हो, सावधान !
घरभित्र पुगेपछि उनले नाके स्वरमा भने – म घर फर्केर आउँछु भन्ने एकरति पनि विश्वास लागेको थिएन । आफ्नो बेडमा सुत्न पाएपछि म पूरै निको हुनेछु ।
भाउजु र केटाकेटी निकै खुशी भए । हर्षको इन्द्रेणी देखेर म अत्यन्तै प्रसन्न भएँ ।
कृष्णले सोचेका थिए, उनी घर पुगेपछि उनलाई भेट्न, पीडासँग खुशी साट्न तथा सान्त्वना दिन धेरै आफन्त तथा साथी आउनेछन् । त्यही ऊर्जाले म पूर्ण निको हुनेछु । अफसोच ! उनलाई भेट्न एक जना पनि आएन । कोरोना सर्छ भनेर दूध ल्याउने मान्छेले दूध ल्याउन छोडेको रहेछ । नजिकका पसलमा तरकारी, फलफूल तथा खाद्यान्न बेच्ने मान्छे पनि उनको परिवार देखेपछि दुकानबाट स्टोर कोठामा पस्दा रहेछन् । आफन्तले केटाकेटीलाई त्यो घरमा नहेर्नू, त्यो बाटो नहिँड्नु, त्यो घरका मान्छेसँग नबोल्नु भनेका रहेछन् । उनी अस्पताल हुँदा कृष्णले सबै सामान ल्याउने गरेको रहेछ ।
बिहानै कृष्ण भ्यान लिएर आयो – तरकारी, फलफूल, दूध, अण्डा, माछामासु तथा अन्य खाद्यान्न झण्डै १ महिना पुग्ने गरी ल्याएको रहेछ । ताजा तरकारी र दूधको लागि आफ्नो ड्राइभरलाई जिम्मा दिएको रहेछ ।
उनलाई आफ्नो घर सुनसान लाग्दै गयो । केटाकेटी अनलाइन क्लासमा व्यस्त थिए । भाउजुलाई घरको कामले व्यस्त बनाएको थियो । कोही भेट्न आए पनि हुन्थ्यो नि ! उनले सुखदुःख अझै बाँड्न खोजेका थिए । यसरी सामाजिक बहिष्करणमा परिएला भनेर उनले कल्पना पनि गरेका थिएनन् ।
*****
कृष्णलाई एकदम थकाइ लाग्ने, शरीर दुख्ने, दिमागमा बादल लागे जस्तो हुने समस्या बढिरहेको थियो । अक्सिजन त २४ घण्टा लगाउनु परेको थियो । धेरैबेर बोल्दा सास बढ्थ्यो । हरेक दिन १० किलोमिटर ‘जगिङ्ग’ गर्ने कृष्णलाई बेडरुमबाट किचन जान पनि मुस्किल परेको थियो । स्वाद र गन्धमा भने सुधार आएको थियो । डा. शर्मासँग छलफल गरेपछि उनले फोक्सो र मांशपेशीको फिजियोथेरापिस्ट पठाए । फिजियोथेरापीले उनलाई फाइदा गर्यो । योग, प्राणायाम, ध्यान, जडिबुटीको चिया सेवन, मालिस आदिलाई उनले जीवनशैली बनाए । ब्यायाम गर्न उनीसँग शक्ति थिएन ।
स्वास्थ्य राम्रो हुँदै गएकाले उनी खुशी थिए । तर अचानक उनलाई सास फेर्न गाह्रो भयो । अक्सिजनको लेभल घट्न थाल्यो । त्यसपछि उनी अस्पताल गए । सिटी स्क्यान, एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, एमआरआई आदिको जाँच भयो । उनको मस्तिष्क, मुटु, फोक्सो, किड्नी तथा कलेजोको समस्या २० को १० मात्र भएको रहेछ । १ हप्ता अस्पताल बसेर उनी डिस्चार्ज भए । डिस्चार्ज गर्ने बेलामा डा. शर्माले भने – आयु, बुद्धि, बल, आरोग्य र प्रीति बढाउनेवाला स्निग्ध, स्थिर एवं मनको रुचि अनुकूलको पौष्टिक भोजन, व्यायाम, सूर्यस्नान, पर्याप्त शयन तथा तनावरहित जीवन बाँच्ने अभ्यास गर्नुहोला । बिस्तारै सबै अंगले राम्रो काम गर्नेछन् ।
*****
यसपछि उनको स्वास्थ्य राम्रो हुँदै गयो । अक्सिजन लगाएको बेलाबाहेक उनले आफू बिरामी भएको बिर्सिंदै गए । बिस्तारै आफ्नो काममा फर्किए । तनाव व्यवस्थापनको लागि अप्ठ्यारा व्यवहार मिलाए । जग्गा बेचेर बैंकको ऋण तिरे । बचेको पैसा नियमित ब्याजको लागि मुद्दती खातामा राखे ।
यूट्युब हेरेर व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने तथा गीता पाठ गर्ने काममा आफूलाई व्यस्त राखे उनले । ज्ञानयोग, ध्यानयोग, कर्मयोग तथा भक्तियोगमा उनले आफूलाई ढाल्ने कोसिस गरे । कोरोना रोकथामको लागि उनले मास्क तथा साबुन वितरण गर्ने, सही तरिकाले मास्क लगाउन सिकाउने, आफ्ना अनुभव बाँड्ने लगायतका काम पनि गर्न थाले । कोरोना संक्रमणजन्य समस्याको मात्र उपचार गर्ने ‘पोस्ट कोभिड हेल्थ सेन्टर’ स्थापना गर्नको लागि लबिङ गर्न थाले ।
*****
पछिल्लो समय उनमा झसङ्ग हुने, डर लाग्ने, सास बढ्ने, केटाकेटीको भविष्यबारे धेरै चिन्ता लाग्ने, मुटुको ढुकढुकी बढ्ने, दिक्क लाग्ने, मूड फ्रेस नहुने, मनमा नकारात्मक कुरा आउने, कुनै कुराको पनि रुचि नलाग्ने, नरमाइलो लाग्ने, मृत्युबारे सपना देख्ने, सजिलो मरण कसरी होला भन्ने उपाय खोज्न मन लाग्ने, हार्ट एट्याक भए हुन्थ्यो वा प्लेन चढ्दा दुर्घटना भए हुन्थ्यो जस्ता सोचाइ आउने, खाना नरुच्ने, बिस्ताराबाट उठ्न गाह्रो हुने, निद्रा नलाग्ने, ऐठन पर्ने, सपनामा कालो बिरालोले घाँटी च्याप्ने, कन्फ्युज हुने, भर्खरको कुरा भर्खरै बिर्सिने, मानसिक एकाग्रता नहुने लगायतका समस्या देखा परे ।
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ।।
उनी बारम्बार मृतुन्जय मन्त्र गुनगुनाउने गर्थे । यसबाट थाहा हुन्थ्यो कि उनको जिजीबिषा मरेको छैन । यी समस्या देखेपछि मैले मनोविदसँग भेट गराएँ । साइकोथेरापी, सिबिटी लगायतका थेरापी तथा मनोरोग विज्ञले लेखिदिएको औषधि सेवनको कारण २ हप्तापछि उनको स्वास्थ्यमा सुधार हुँदै गयो । खाना रुच्ने, निद्रा लाग्ने तथा मनमा सकारात्मक सोचको विकास भएपछि उनको स्वास्थ्य पल्लवित तथा पुष्पित भयो ।
*****
१०८ ॐ मन्त्र साधना गरिरहेको बेला डा. शर्माको फोन आयो – कृष्ण सर ! एक जना कोरोनाको गम्भीर बिरामीलाई प्लाज्मा दिएर बचाउनुपर्यो । अरुको ब्लड ग्रूप म्याच भएन, तपाईं नै आउनुपर्ने भयो, केस सिरियस छ । उनी तुरुन्तै अस्पताल गए । उनको घरलाई कोरोनाको घर भनेर सामाजिक बहिष्कार गरेको वडा सदस्य कोभिडको कारण आईसीयूमा पुगेका रहेछन् । कृष्णले रक्तदान गरे । कृष्णको प्लाज्माको कारण उनको जीवन बच्यो ।
उनलाई क्याबिनमा राखेपछि सुप, जुस तथा पोषिलो खाना लिएर कृष्ण वडा सदस्यलाई भेट्न गए । उनी घुक्कघुक्क रुन्थे मात्र । उनलाई डिस्चार्ज गर्दा पैसा नपुगेको थाहा पाएर कृष्णले सापटी दिए ।
अस्पतालबाट डिस्चार्ज भएर घर आएपछि वडा सदस्यले कृष्णको घरमा गएर रुँदै बिन्ती गरे – भाइ, म अपराधीलाई आफ्नो रगत दिएर किन बचाउनुभयो ? म पापीलाई बाँच्ने हक छैन ... !’
म पनि त्यहीँ थिएँ । कृष्णले भने – दाइ, यसमा तपाईंको दोष छैन । सामाजिक भ्रम यसको दोषी हो । हामी क्षमाशील, सत्यवादी, चराचर जगतको हित चाहानेवाला, शरीर, मन तथा वाणीबाट उत्तम व्यवहार गर्नेवाला, प्रतिभासम्पन्न, आस्तिक, मेधावी, स्मृतिमान, धैर्यधर तथा निस्पृह हुनुपर्दछ ।’ उनले पटक–पटक माफी मागे अनि भाउजुले दिएको फलफूलको झोला बोकेर बाहिरिए ।
वडा सदस्यले ‘यो कोरोनाको घर हो, सावधान !’ लेखेको पोस्टर च्यातेर अर्को पोस्टर टाँसेछन् । जसमा लेखिएको थियो – ‘यो भगवानको मन्दिर हो, फूल चढाऔं !’
पढ्नुहोस्, भाग १ : मृत्युको मुखबाट !
लोकान्तरमा प्रकाशित डा. रवीन्द्र पाण्डे (समीर)को नियमित स्तम्भ पढ्न यहाँ क्लिक गर्नुहोस् ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...