
गर्मी मौसम शुरूआतसँगै सबैको चासो खानपान र पेय पदार्थमा ध्यान दिन शुरू भइसकेको छ । गर्मी मौसममा कस्ता खालका पेय पदार्थ रोज्ने भन्ने चिन्ता धेरैमा रहन्छ । जाडो महिनामा शरीरलाई ‘वार्म अप’ राख्न जुन किसिमको पेय पदार्थ रोजिन्छ, गर्मीयाममा पनि त्यस्तै भिन्न खालका पेय पदार्थहरू रोज्नुपर्ने हुन्छ ।
गर्मीमा शरीरलाई ठन्डा राख्ने धेरै उपाय छन् । शरीरलाई रिफ्रेशिङ र ताजगी दिन हामीले मौसम अनुसारको पेय पदार्थ रोज्नु उत्तम हुन्छ, जसले हामीलाई सधैं ताजगी राख्न मद्दत गर्दछ ।
कागती, पुदिना, लस्सी र मौसमी फलफूलको रसले पनि शरीरमा ताजगी ल्याउन पूर्ण भूमिका खेलेको हुन्छ ।

गर्मीमा के कस्ता पेय पदार्थ उत्तम ?
गर्मीमा सबैको आवश्यकताभित्र पर्छ निबु पानीदेखि लस्सीसम्म । गर्मीमा कागतीको निकै खपत हुन्छ र बाबरीको पनि । दुवै एकअर्काका परिपुरक पनि हुन् । लस्सीको पनि गर्मीमा त्यतिकै महत्त्व छ । ‘सफ्ट ड्रिङ्क्स’ पनि गर्मीमा निकै खपत हुन्छ तर व्यावसायिक रूपमा चलेका ‘सफ्ट ड्रिङ्क्स’ र ‘प्रिजभ’ गरिएका जुसहरू स्वस्थकर मानिँदैनन् ।
लस्सी भन्दैमा हामी दही फिटेर कुनै फ्लेबर मिसाएर बनाउने पेय पदार्थ बुझ्छौं तर लस्सी नै बिसौंथरिका हुन्छन् । स्विट लस्सी, सल्टेट लस्सी, मलाइ लस्सी, केसर लस्सी, छाच, चकलेट लस्सी, म्यंगो लस्सी, स्ट्रबरी लस्सी, बिट लस्सी, मसला लस्सी, बनाना लस्सी, आभोगाडो लस्सी, मिक्स फ्रुट लस्सी, लिची लस्सी, पपय्या लस्सी लगायत कैयौ हुन्छन् ।
महिटो पनि कैयौथरिका हुन्छन्, जुन गर्मीका लागि उत्तम रिफ्रेसिङ ड्रिङ्क्स मानिन्छ । वाटरमेलन महिटो, ब्लुबेरी महिटो, स्ट्रबेरी महिटो, रसबेरी महिटो, कोकोनट महिटो, म्यांगो महिटो, ब्ल्याकबेरी महिटो, क्लासिक महिटो, प्यासन फ्रुट महिटो, फ्रोजन महिटो, पाइन एप्पल महिटो, पिच महिटो, कुकम्बर महिटो लगायत कैयौ छन् ।

साधारणतया महिटो अल्कोहल बेसमा बन्ने भए तापनि अल्कोहल फ्री पनि बनाएर रिफ्रेसिङ ड्रिङ्क्सको रूपमा सेवन गर्न सकिन्छ । अर्को विकल्पको रूपमा लेमोनेड पनि लिन सकिन्छ, जुन रिफ्रेसिङ ड्रिङ्क्स कैयौंथरि र फ्लेबरमा तयार गरेर पिउन सकिन्छ ।
लस्सी स्वीट कर्डमा कुनै पनि फ्लेबरको फ्रुट हालेर सहज बनाउन सकिने पिउरी बेसको रिफ्रेसिङ ड्रिङ्क्स हो भने महितो र लेमोनेड क्लेर बेसका रिफ्रेसिङ ड्रिङ्क्स हुन् ।
